Home News Business बट्टाई र अन्डा बेचेर मासिक ४० हजार ।

बट्टाई र अन्डा बेचेर मासिक ४० हजार ।

SHARE

हेटौंडा : बट्टाई र अन्डा बेचेर एक युवाले मासिक ४० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । हेटौंडा–४ चिसापानीका युवा प्रकाश सुवेदीले हेटौंडामा पहिलो पटक बट्टाई फार्म सञ्चालन गरेका हुन् ।

कुखुराको तुलनामा धेरै प्रोटिन भएकाले मासु तथा अन्डाका लागि राम्रो मानिएको बट्टाईका दैनिक चार सय अन्डा उत्पादन भइरहेको फार्म सञ्चालक सुवेदीले बताए । विदेश जाने तयारी थाले पनि स्वदेशमै स्वरोगार बन्न बट्टाई चरापालन थालेका उनले यसबाट राम्रै आम्दानी गरेका छन् । ‘घर खर्च धानेर मासिक करिब ४० हजार रुपैयाँ बचत पनि हुने गरेको छ’, उनले भने, ‘मैले मकवानपुरमै नौलो काम गरेको हुँ, सुरुमा बजारको विषयमा चिन्ता थियो, तर अब त्यो पनि हटेको छ ।’

बट्टाई चराको मासु तथा अन्डाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । साथै प्रोटिनको मात्रालाई सन्तुलित गर्ने सुवेदीले बताए । यौन क्षमता, शरीर वृद्धि विकासमा सहयोग गर्ने खालका पौष्टिक तत्व बट्टाईको मासु तथा अन्डामा पाइने उनको भनाइ छ ।

स्नातकसम्म अध्ययन गरेका २६ वर्षीय सुवेदीले सात लाख रुपैयाँ लगानीमा एक वर्षअघि फार्म सुरु गरेका हुन् । एउटा बट्टाई डेढ सयदेखि दुई सय ५० रुपैयाँ र अन्डा प्रतिगोटा १० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए ।

Comments

comments