Home Sports cricket एक खेल अगावै अफगानिस्तानद्वारा सिरिज कब्जा

एक खेल अगावै अफगानिस्तानद्वारा सिरिज कब्जा

SHARE

अफगानिस्तानले आयरल्यान्डविरुद्धको ३ खेलको टी- २० शृंखला जितेको छ। पाहुना टोली अफगानिस्तानले एक खेल अगावै सिरिज २–० ले जित्यो। ब्रेडी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा अफगानिस्तानले आयरल्यान्डमाथि ८१ रनको सनसनीपूर्ण जित निकाल्यो।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। उसका लागि हज्रतुलाह जजाईले सर्वाधिक ८२ रनको पारी खेलेका थिए। त्यस्तै कप्तान अस्घर स्टानिक्जाईले ३७ तथा नाजिबुल्लाह जद्रानले २० रनको योगदान दिएका थिए।

आयरल्यान्डका लागि पिटर चेजले सर्वाधिक ३ विकेट लिए। त्यस्तै बोय्ड र्यान्किनको नाममा भने २ विकेट रह्यो। १६१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको आइरिस टोली १५ ओभरमा ७९ रनमानै अलआउट भयो। आयरल्यान्डका लागि विलियम पोर्टरफिल्डले सर्वाधिक ३३ रन जोडेका थिए। त्यस्तै कप्तान ग्यारी विल्सनले २२ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानहरुको प्रदर्शन गतिलो रहेन।

घरेलु टोलीलाई सस्तैमा समेट्ने क्रममा मुजिब उर रहमान र राशिद खानको स्पिन जोडी प्रभावकारी बन्यो। मात्र ३ ओभरको स्पेलमा राशिदले १७ रन खर्चिएर ४ विकेट हात पारे। यस्तै आफ्नो ४ ओभरको स्पेलमा मुजिबले १७ रन खर्चिएर ३ विकेट लिए। स्पिन जोडीले गरेको ७ ओभरमा आयरल्यान्डले ३४ रन लिंदा ७ विकेट गुमाउन पुग्यो।

Comments

comments