Home Cricket Gallery इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएपछि पाकिस्तानी क्रिकेटमा हलचल

इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएपछि पाकिस्तानी क्रिकेटमा हलचल

SHARE

पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिएका छन् । पूर्व क्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएका हुन् ।

सन् २०१३ मा भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाएका थिए ।

सेथीलाई शरीफले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)मा नियुक्त गरेका थिए । अध्यक्षका रुपमा उनको कार्यकाल सन् २०२० मा सकिने भए पनि उनले अहिले नै राजीनामा दिएका छन् ।

‘सहज तरिकाले काम गर्ने वातावरण नभएको र आफ्नो जिम्मेवारी पूरा गर्न गाह्रो हुने देखिएकाले मैले क्रिकेट बोर्डबाट राजीनामा दिने निर्णय गरेको हूँ’, सेथीले ट्वीटर मार्फत् सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ ।

‘क्रिकेट बोर्डले आगामी दिनमा क्रिकेट टिमलाई अझ सशक्त बनाउदै राम्रो प्रस्तुतिका लागि वातावरण वनाइदिने छ भन्ने मैले विश्वास लिएको छु’, उनले भनेका छन् ।

प्रधानमन्त्री खानले सेथीको ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का पूर्व अध्यक्ष हसन मानीलाई नियुक्त गरिसकेका छन् । उनलाई नियुक्त गरेपछि खानले ट्वीटरमा लेखेका छन्, ‘मानीले आफ्नो काममा मूल्यवान् अनुभव र व्यापक परिवर्तन गराउनुहुने छ ।’

पदत्याग गरेका सेथी पाकिस्तानको राष्ट्रिय साप्ताहिक द फ्राइडे टाइम्सका सम्पादक समेत हुन् । त्यस पत्रिकामा खानको व्यङग्यात्मक नियमित स्तम्भ पनि छापिने गथ्र्यो ।

सन् २०१६ मा सेथीकै नेतृत्वमा पाकिस्तान सुपर लिग आयोजना गरिएको थियो । त्यसलाई पाकिस्तानमा २० वर्षमाथिको क्रिकेट खेलको विकासमा ठूलो योगदान पुर्‍याएको प्रतियोगिताका रुपमा लिइन्छ । टी–ट्वान्टी टिममा पाकिस्तान अहिले पनि विश्वकै अग्रस्थानमा रहेको छ ।

Comments

comments